सफलता:-"एउटा यात्रा, गन्तव्य मात्र होइन"
धेरैलाई लाग्छ, सफलताको एउटा निश्चित बिन्दु हुन्छ, जहाँ पुगेपछि संघर्ष सकिन्छ र खुसी सुरु हुन्छ। तर मेरो भोगाइले भन्छ, सफलता कुनै बिसौनी होइन, यो त हिँडिरहने एउटा बाटो हो। हामी प्राय अरूको सफलताको चमक देख्छौँ, तर त्यो चमक पछाडिको अँध्यारो रातको संघर्ष देख्दैनौँ। कसैको ठूलो महल सफलता होला, तर कसैको लागि एक छाक मिठो खान पाउनु वा आफ्ना बुबा-आमाको अनुहारमा मुस्कान देख्न पाउनु पनि संसारकै ठूलो सफलता हो।
"सफलता मान्छेको हातमा होइन, उसको नियत र निरन्तरताको प्रयासमा लुकेको हुन्छ।"
वास्तवमा, सफलता भनेको अरूलाई उछिन्नु होइन, बरु हिजोको आफूभन्दा आजको आफूलाई अलिकति भए पनि उत्कृष्ट बनाउनु हो। जब तपाईं लडेर पनि फेरि उठ्ने साहस गर्नुहुन्छ, जब तपाईं आँसु पुछेर अरूलाई हँसाउने प्रयास गर्नुहुन्छ, सम्झिनुहोस्, तपाईं सफल भइसक्नुभयो। जिन्दगीको यो दौडमा कहिलेकाहीँ थाकेर रोकिनु स्वाभाविक हो, तर हार मानेर फर्कनु हुँदैन। किनकि, हिमाल चढ्नेले पनि त हजारौँ पटक पाइला लर्खराएपछि मात्र चुचुरो चुम्न सफल हुन्छ। त्यसैले, आफ्नो संघर्षलाई बोझ होइन, अनुभवको पुँजी बनाउनुहोस्। तपाईंको आजको पसिनाले नै भोलिको सफलताको कथा लेख्नेछ।
