आजको यो भागदौडपूर्ण संसारमा हामी सबै एउटा अनौठो दौडमा छौँ। कसैलाई पैसाको पछि दौडिनु छ, कसैलाई करियरको, त कसैलाई प्रतिष्ठाको। यो दौडमा दौडिँदा दौडिँदै हामीले केही यस्ता अमूल्य चिजहरू पछाडि छोड्दै गइरहेका छौँ, जसको भर्पाई कुनै पनि भौतिक सम्पत्तिले गर्न सक्दैन त्यो हो 'समय' र 'सम्बन्ध'।
हामी प्राय भन्ने गर्छौँ, "अहिले निकै व्यस्त छु, पछि कुरा गरौँला।" तर त्यो 'पछि' कहिलेकाहीँ यति ढिलो भइदिन्छ कि हामीसँग भन्नलाई त धेरै कुरा हुन्छन्, तर सुनिदिने मान्छे कि त टाढा भइसकेको हुन्छ, कि त ऊसँग सुनिदिने फुर्सद हुँदैन।
प्रविधिको विकासले संसारलाई एउटा सानो पर्दामा त अटाएको छ, तर विडम्बना! एउटै सोफामा बसेका परिवारका सदस्यहरू पनि एकअर्कासँग बोल्नुको साटो मोबाइलको स्क्रिनमा हराइरहेका हुन्छन्। हामी टाढाका मान्छेलाई 'लाइक' र 'कमेन्ट' त गर्छौँ, तर नजिकै बसेका आफ्नाहरूको मनको आवाज सुन्न बिर्सिरहेका हुन्छौँ। सम्बन्ध कुनै मेसिन होइन, जसलाई एकपटक सेट गरेपछि सधैँ चलिरहोस्। सम्बन्ध त एउटा बिरुवा जस्तै हो, जसलाई जीवित राख्न प्रेमको पानी र समयको मलजल चाहिन्छ। संसारको सबैभन्दा महँगो उपहार कसैलाई दिनु छ भने त्यो 'समय' हो। किनकि जब तपाईं कसैलाई आफ्नो समय दिनुहुन्छ, तपाईंले आफ्नो जीवनको त्यो हिस्सा दिनुहुन्छ जुन कहिल्यै फर्किएर आउँदैन।
आफ्ना प्रियजनहरूका लागि समय निकाल्न नछुटाउनुहोस्। बुबा-आमाका चाउरिएका गाला, साथीभाइका पुराना ठट्टा र जीवनसाथीको साथ , यी सबै कुरा पैसाले किन्न सकिँदैन। समय छँदै सम्बन्धको महत्त्व बुझौँ, नत्र पछि हातमा सफलता त होला, तर त्यो सफलताको खुसी साट्ने मान्छे नहुन सक्छ।
तपाईंले अन्तिम पटक कहिले आफ्ना प्रियजनसँग मन खोलेर कुरा गर्नुभयो? सोच्नुहोला है!
तपाईंलाई मेरो ब्लग कस्तो लागिरहेको छ कृपया कमेन्ट बक्स मा आफ्नो अमूल्य प्रतिक्रिया लेख्न नभुल्नुहोला।
